सुर्ती–चुरोटमा थप कर बढाएर निःशुल्क उपचार गरिने


 


काठमाडौं, जेठ ३१ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा करको मात्रा वृद्धि गरेर गरिब तथा न्यून आएका व्यक्तिहरूलाई निःशुल्क उपचारको व्यवस्था गरिने बताएका छन् ।

बुधबार प्रतिनिधि सभा अन्तर्गत रहेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले सुर्तीजन्य सामग्रीमा अझै करको मात्रा बढाएर निःशुल्क उपचार गर्ने नीति बनाउन लागिएको बताएका हुन् ।

उनले आगामी ५ वर्षमा सबै नेपालीको निःशुल्क उपचारको व्यवस्था गर्न सकिनेबारे गृहकार्य गरिरहेको जानकारी दिए ।

उनले एसियाका अरू देशको तुलनामा नेपालमा सुर्तीजन्य बस्तुमा करको मात्रा थोरै रहेको बताउँदै करको मात्रा बढाएर त्यसबाट आउने रकमको छुट्टै कोष बनाएर ५ वर्ष भित्रमा सबै विपन्न गरिबको उपचार गर्न सकिने बताए ।

उनले गरिब, बेवारिसे नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्न थालेको बताउँदै सरकारी र प्राइभेट अस्पतालले १० प्रतिशत निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने कुरालाई कार्यान्वयनमा लगेको पनि जानकारी दिएका छन् ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्