एलन मस्कको कम्पनीमा १४ वर्षीय इन्जिनियर !
काठमाडौं, जेठ २९ । एलन मस्कको कम्पनी स्पेस एक्समा १४ वर्षीय सफ्टवेयर इन्जिनियर आबद्ध भएका छन् ।
अमेरिकास्थित सान फ्रान्सिस्कोका कैरन क्वाजीले कम्पनीको ‘टेक्निकल्ली च्यालेन्जिङ’ र ‘फन’ इन्टर्भ्यु उत्तीर्ण गरेपछि स्पेसएक्स जोडिने मौका पाएका हुन् ।
योसँगै स्पेसएक्समा सबैभन्दा कम उमेरमा आबद्ध हुने क्वाजी पहिलो व्यक्ति बनेका छन् ।
लस एन्जलस टाइम्सलाई अन्तर्वार्ता दिँदै क्वाजीले स्पेस एक्सको मानिसलाई मंगल ग्रहमा पठाउने परियोजनामा आफ्नो सीपले सहयोग पुर्याउने बताएका छन् ।
साथै कम्पनीले आफ्नो उमेरभन्दा पनि सीपलाई हेरेर कम्पनीमा आबद्ध गराएको क्वाजीको भनाइ छ ।
स्पेस एक्समा काम गर्न क्वाजी आफ्नी आमासँग फ्लेजन्टन क्यालिफोर्नियाबाट रेडमोन्ड वाशिङटनमा बसाइँ सर्दैछन् ।
लस एन्जलस टाइम्सका अनुसार क्वाजी ११ वर्षको उमेरमा कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ अध्ययन गर्न सान्टा क्लारा युनिभर्सिटीमा भर्ना भएका थिए । उनी यही जुन महिनामा उक्त विषयमा डिग्री हासिल गर्दैछन् ।
सानैबाट समसामयिक घटनाक्रम र समाचारमा रुचि हुनुले उनलाई जिज्ञासु र बौद्धिक व्यक्तित्व बनाएको थियो । उनका आफन्तका अनुसार क्वाजी दुई वर्ष हुँदादेखि नै समसामयिक घटनाक्रम र समाचार सुन्न उत्साहित हुन्थे ।
उनी आफूले रेडियोमा सुनेका समाचार आफ्ना साथी र शिक्षकहरूलाई पनि सुनाउँथे ।
९ वर्षको उमेरमा तीन कक्षामा अध्ययन गर्दा उनलाई स्कुलको पढाइ त्यति कठिन लागेन । क्वाजीको क्षमता अनौठो लागेपछि उनका अभिभावकले सामुदायिक कलेजमा भर्ना गरिदिए ।
प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार