अमेरिका लक्षित गोप्य चिनियाँ जासुसी अखडा होस्ट गर्दै क्युवा
काठमाडौं, जेठ २६
अमेरिकाको फ्लोरिडाबाट करिब १६० किलोमिटर टाढा रहेको टापुमा जासुसी अखडा स्थापना (होस्ट) गर्न चीनले क्युवासँग सम्झौता गरेको बताइएको छ ।
वाल स्ट्रिट जर्नल (डब्ल्यूएसजे)ले सार्वजनिक गरेको यो सम्झौताको रिपोर्टमा अमेरिका र क्युवाली सरकारले भने आशंका व्यक्त गरेको दी गार्डियनले उल्लेख गरेको छ ।
इलेक्ट्रोनिक इभ्सड्रपिंग जासुसी आधार स्थापनाले बेइजिङलाई दक्षिण पूर्वी अमेरिकाबाट इलेक्ट्रोनिक सूचनाहरू संकलन गर्न अनुमति दिने बताइएको छ ।
दक्षिण पूर्वी राज्यहरूमा अमेरिकी सैन्य अड्डा र पानी जहाजको ट्राफिक निगरानी संरचना रहेका छन् । अमेरिकी केन्द्रीय कमाण्डको मुख्यालय फ्लोरिडाको ताम्पामा रहेको छ ।
यस्तै सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा फोर्ट लिबर्टी उत्तरी क्यारोलिनामा आधारित छ । दुवै देश यसका लागि सैद्धान्तिक सहमतिमा पुगेको र चीनले क्युबालाई कयौं अर्ब डलर पैसा दिइरहेको डब्ल्यूएसजेले उल्लेख गरेको छ ।
ह्वाइट हाउस राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन किर्बीले यो रिपोर्ट देखेको तर, सही नभएको बताएका छन् । उनले क्युवासँग चीनको सम्बन्धलाई लिएर संयुक्त राज्य अमेरिकाको चासो रहेको र त्यसलाई नजिकबाट नियालिरहेको बताएका छन् ।
प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार