एमालेको सदस्य बन्न १ लाख १९ हजारले दिए आवेदन


 


काठमाडौं, जेठ २४ । नेकपा (एमाले)को सदस्य बन्नका लागि एक लाख १९ हजार ९६ जनाले आवेदन दिएका छन् । एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानका अवधिमा उनीहरुले नयाँ सदस्यताका लागि आवेदन दिएका हुन् ।

गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षित नतिजा नआएपछि एमालेले पार्टी सुदृढीकरणका लागि गत फागुन ५ देखि वैशाख ९ गतेसम्म ‘मिसन ग्रासरुट’ सञ्चालन गरेको थियो।

पार्टीका माथिल्ला र तल्ला कमिटीका नेता तथा कमिटी परिचालित सो अभियानका क्रममा उक्त सङ्ख्यामा नयाँ सदस्यताको आवेदन परेको हो।

उक्त आवेदनलाई अध्ययन गरी पार्टीको केन्द्रीय सङ्गठन विभागले स्वीकृति र नवीकरण भएका सदस्यको अद्यावधिक गर्ने सो पार्टीका जनसङ्गठन समन्वय संयन्त्रका संयोजक एवम् सङ्गठन विभागका सदस्य भानुभक्त ढकालले जानकारी दिए।

एमालेले हालैको केन्दीय कमिटी र सचिवालयको निर्णयबमोजिम आउने असार मासन्तभित्र पार्टी सदस्यताको नवीकरण अद्यावधिक गराई भदौमा सबै प्रदेशको अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ ।

मिसन ग्रासरुट अभियानको समीक्षा र भावी योजना तर्जुमाका लागि गत वैशाख २८ देखि ३० गतेसम्म एमालेको केन्द्रीय कमिटीको पाँचौँ बैठक भएको थियो।

प्रकाशित मिति: २४ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्