मधेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
जनकपुरधाम, जेठ २३
मधेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ ।
आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् ।
मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले पहिलो पटक आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट दीगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्ने, सेवा प्रवाहमा सुधार र स्रोतसाधनको परिचालनमा प्रभावकारिता कायम गर्नेतर्फ लक्षित हुने यसअघि प्रस्तुत गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामा उल्लेख गरेको छ।
प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बाध्यता छ । सोही अनुरुप मंगलबार प्रदेशसभामा मधेस सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।
तर प्रदेश सरकारमा चार जना मन्त्री बिना विभागीय छन् भने तीन वटा मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले आफैँसँग राखेका छन् । सरकारले पूर्णता नपाउँदै नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।
प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलबार