ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आ–आफ्नो तहबाट भूमिका निर्वाह गर्नुपर्छ : देउवा


 


काठमाडौं, जेठ १५
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश प्रकाशित गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका ऐतिहासिक जनआन्दोलनहरूमा देशका थुप्रै होनाहार सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गरेको बताए ।

उनले नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२र६३ को सफलतापश्चात् कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले संविधान सभाको निर्वाचन सम्पन्न गरेको उल्लेख गरेका छन् ।

‘गणतन्त्र कार्यान्वयनका लागि २०६५ साल जेठ १५ गते संविधान सभाको पहिलो बैठकमा पेश गरेको प्रस्ताव पारित भई नेपालमा राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । यो दिनलाई गौरवका साथ स्मरण गर्दै हरेक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौं,’ उनले भने ।

सभापति देउवाले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रुपान्तरण गर्न सकिने बताएका छन् ।

सभापति देउवाले आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सबै वीर शहीदप्रति दिवसका अवसरमा उनीहरूको समर्पण, साहस र बलिदानको स्मरण गर्दै उच्च सम्मान साथ श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्