नेपालले अमेरिकालाई पठायो धर्मान्तरणबारे ‘नोटिस’


 


काठमाडौं, जेठ १४
नेपाललाई हिन्दुराष्ट्र बनाउने र गैर हिन्दुमाथि विभेद गर्ने नीतिका लागि भारतीय जनता पार्टीबाट हिन्दुवादीहरुलाई रकम लगानी गरेको भन्ने अमेरिकी रिपोर्टका सम्बन्धमा नेपाल सरकारले अमेरिकी सरकारलाई ‘कूटनीतिक नोट’ पठाएको छ ।

नेपालले अमेरिकालाई त्यस्तो नोट पठाइसकेको प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार प्रतिनिधिसभालाई जानकारी दिएका हुन् ।

प्रधानमन्त्री दाहालले शनिबार साँझ प्रतिनिधिसभामा सांसद योगेश भट्टराईले उठाएको प्रश्नको जवाफ दिने क्रममा भने, ‘धर्मान्तरणबारे नेपाल सरकारले अमेरिकी सरकारलाई नोट पठाइसकेको छ ।’

संसदमा प्रधानमन्त्रीले पहिलो चरणको जवाफ दिइसकेपछि पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद भट्टराईले सोधे, ‘हालै समाचारमा आए अनुसार संयुक्त राज्य अमेरिकाको सरकारी निकायले नेपालमा धर्मान्तरण र धर्म अतिक्रमणजस्ता विषयमा गम्भीर प्रतिवेदन सार्वजनिक गरेको छ । र, यसमा हाम्रो मित्रराष्ट्र भारतलाई समेत प्रतिवेदनले तानेको छ । तर, प्रधानमन्त्रीजीले यस विषयमा केही पनि बोल्नुभएन । नेपाल सरकारको धारणा म बुझ्न चाहन्छु ।’

भट्टराईको प्रश्नको जवाफमा प्रधानमन्त्रीले अमेरिकी सरकारलाई नोट पठाइसकेको छोटो जानकारी दिए ।

अमेरिकी संस्था रिलिजियस फ्रिडम फोरमले हालै जारी गरेको २०२२ को वार्षिक प्रतिवेदनमा भारतका हिन्दुवादीले नेपालमा धर्मान्तरणका लागि पैसा दिएको आरोप लगाएको थियो । यसमा राप्रपाका नेताहरुले पनि पैसा बुझेको प्रतिवेदनले औंल्याएपछि राप्रपाले समेत यसबारे औपचारिकरुपमा आपत्ति जनाइसकेको छ ।

यसैबीच, शनिबारको संसद बैठकमा एमाले सांसद भट्टराईले प्रधानमन्त्री दाहाललाई अर्को पनि प्रश्न सोधे– ‘बोआओ फोरममा तपाई जानुभएन । र, राष्ट्रियसभामा भन्नुभयो कि चिनियाँ राजदूतकै सल्लाहमा म गइनँ । तर, चिनियाँ राजदूतले यहाँलाई भेटेर गलत कुरा बोलेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो, यस विषयमा सदन जान्न चाहन्छ, के हो ?’

प्रधानमन्त्री दाहालले यो प्रश्नको भने जवाफ दिएनन् ।

प्रकाशित मिति: १४ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्