भारतीय प्रधानमन्त्री माेदीकाे निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड चार दिने भारत भ्रमणमा जाँदै


 


काठमाडाैं, जेठ १३
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी बुधवार (जेठ १७ गते) भारत भ्रमणमा जाने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी मे ३१ अर्थात् जेठ १७ गते भारत भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी १७ गतेदेखि २० गतेसम्म भारतमा रहनेछन् ।

मन्त्रालयका अनुसार भ्रमणमा प्रधानमन्त्री प्रचण्डले समकक्षी नरेन्द्र मोदी, भारतीय राष्ट्रपति द्रौपदी मुर्मुलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डले जुन १ तारिकमा समकक्षी मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने मन्त्रालयले जनाएको छ । सोही दिन मोदीले दिवाभोजको आयोजना गर्ने छन्।

भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत छ ।

प्रधानमन्त्री प्रचण्ड ३ जुन २०२३ मा काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ । उनी २० गते स्वदेश फर्किने कार्यक्रम छ । पुस १० गते प्रधानमन्त्री नियुक्त भएपछि यो उनको पहिलो विदेश भ्रमण हो।

हाम्रो ‘छिमेकी पहिलो’ नीतिलाई अगाडि बढाउन भारत र नेपालबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई भ्रमणले निरन्तरता दिइएकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएकाे छ । दुई देशबीचको द्विपक्षीय सम्बन्ध विगत केही वर्षमा सहयोगका सबै क्षेत्रमा उल्लेखनीय रूपमा सुदृढ भएको छ। यस भ्रमणले द्विपक्षीय साझेदारीलाई थप गति दिन दुवै पक्षले दिएको महत्त्वलाई जोड दिन्छ।

प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्