जेठ १७ गते भारत भ्रमणमा जाँदै प्रधानमन्त्री प्रचण्ड


 


काठमाडौं, जेठ ११
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जेठ १७ गते छिमेक मुलुक भारतको भ्रमणमा जाने भएका छन् ।

संघीय संसद्मा बजेट वक्तव्य पेस गरेलगत्तै प्रधानमन्त्री प्रचण्ड २० गतेसम्मका लागि भारत भ्रमणमा जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयसँग सहकार्य गरेर प्रचण्डको भ्रमण जेठ १७ देखि २० सम्म गर्न गृहकार्य गरिसहेको छ ।

चारदिने भ्रमणलाई मध्यनजर गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयले गृहकार्यलाई तीव्रता दिएका छन् । वैशाखमा भ्रमणको तयारी गरिए पनि अन्तिम समयमा आएर प्रधानमन्त्री प्रचण्डको भ्रमण रोकिएको थियो ।

जेठ १८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दाहालबीच हैदराबाद हाउसमा भेटवार्ता हुनेछ । सोही दिन वा जेठ १९ मा प्रधानमन्त्री दाहालले भारतकी राष्ट्रपति द्रौपती मुर्मूसँग भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड जेठ २० गते काठमाडौं फर्कने बताइएको छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्