सन्दीप विनाको जिम्बाबे यात्रा कल्पना गर्न सकिँदैन : अध्यक्ष चन्द


 


काठमाडौं, जेठ ६ । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछाने विनाको नेपाली क्रिकेट टिम कल्पना गर्न नसकिने बताएका छन् ।

अध्यक्ष चन्दले अदालतले चाँडो भन्दा चाँडो सन्दिपविरुद्धको मुद्दा किनारा लगाउनुपर्ने बताउँदै यस्तो धारणा राखेका हुन् ।
नेपाली क्रिकेट टिममा कमब्याक भएपछि सन्दीपको उत्कृष्ट प्रदर्शनकै कारण अहिले यो उपलव्धी हासिल गरिको बताउँदै अध्यक्ष चन्दले सन्दीपको योगदानलाई अबमूल्यन गर्न नहुने बताए ।

तर, उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा रहेको मुद्दाका कारण उनको जिम्बाबे यात्रा अन्योलमा रहेको स्वीकार गर्दै अदालतमा पेशी सर्दै जाने हो भने उनको यात्रा अनिश्चित रहने बताए । उनले सन्दीप विनाको आगामी खेलहरुको कल्पना गर्न गाह्रो भएकाले अदालतले चाँडो भन्दा चाँडो मुद्दा किनारा लगाउनुपर्ने बताए ।

सन्दीप विरुद्धको मुद्दाको भोलि (आइतबार) काठमाडौं जिल्ला अदालतमा पेशी तोकिएको छ । अहिलेसम्म पछिल्ला २ वटा पेशी अघि बढ्न नसक्दा आइतबारको पनि के हुने अन्योल रहेकाले सन्दीपको जिम्बाबे यात्रामा पनि संशय बढ्न थालेको छ ।

फौजदारी अभियोग लागेपछि ९९ दिन जेल बसेका सन्दीप रिहा भएपछि अध्यक्ष चन्दले नै उनलाई टिममा समावेश गर्नुपर्ने अडान लिएका थिए । पछि छनोट चरण पार गरेर सन्दीपले आईसीसी विश्वकप लिग टू खेले । उनी जेलमा बस्दा नेपाली टिमले नामेवियामा गरेको प्रर्दशन स्मरण गर्दै अध्यक्ष चन्दले त्यसपछिका खेलमा सन्दीपको उपस्थितिले सम्भव भएको बताए ।

आईसीसी विश्वकप लिग टू र एसीसी प्रिमियर कपमा ब्याट र बल दुवैबाट उत्कृष्ट प्रदर्शन गरेका सन्दीपलाई जिम्बाबे लिएर जाने गरी क्यानले तयारी गरिसकेको पनि अध्यक्ष चन्दले बताए ।

सन्दीप अहिले एक दिवसीय वरियतामा बलिङ तर्फ १९ औं स्थानमा रहेका खेलाडी हुन् भने सर्वाधिक कम खेलबाट १०० विकेट पूरा गर्ने क्रिकेटरको रेकर्ड पनि उनकै नाममा छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्