सन्दीप र भीमलाई ‘ए’ श्रेणीमा राख्ने तयारी
काठमाडौं, वैशाख ३१ । यसअघि वर्गीकरणमा नरहेका क्रिकेटर सन्दीप लामिछाने र भीम सार्कीलाई आगामी असारमा हुने नयाँ वर्गीकरणमा समावेश गर्ने तयारी गरिएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय विश्वकप ग्लोबल छनोट र एसिया कपमा स्थान बनाउँदा पूर्वकप्तान सन्दीप लामिछाने र भीम सार्कीले उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपाल क्रिकेट सङ्घ (क्यान)ले असारमा हुने खेलाडीको नयाँ वर्गीकरणमा सन्दीप र भीमलाई समावेश गर्न छलफल थालेको हो ।
क्यानले गरेको पछिल्ला खेलाडी वर्गीकरणमा सन्दीप र भीम समावेश भएका थिएनन् । वर्गीकरणमा नपरेका सन्दीप र भीमले नेपालले खेलेका अन्तर्राष्ट्रिय म्याच फ्री मात्र पाएका थिए । सन्दीप र भीमले आइसिसी विश्वकप लिग–२ र एसिसी प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
क्यानले खेलाडीको प्रदर्शनका आधारमा राष्ट्रिय टोलीका खेलाडीलाई तीन खण्डमा वर्गीकरण गरेको छ । वर्गीकरणमा परेका खेलाडीले क्यानबाट प्रतिमहिना पारिश्रमिक लिने गरेका छन् ।
प्रकाशित मिति: ३१ बैशाख २०८०, आइतबार