बुटवलमा भेटियो नक्कली मह बनाउने कारखाना, ७ भारतीय पक्राउ


 


रुपन्देही, वैशाख ३१ । बुटवलमा नक्कली मह बनाउने कारखाना फेला परेको छ । बुटवल उपमहानगरपालिका वडा नं ११ सिर्जनानगरमा ४ वटा घर भाडामा लिएर भारतीय नागरिकले मह कारखाना चलाइरहेको फेला परेको हो ।

नक्कली मह कारखाना चलाइरहेका ७ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा शनिवार राति प्रहरी र स्थानीयको पहलमा गस्ती गरेर उक्त कारखानामा छापा हानिएको छ ।

‘देवीनगर प्रहरी चौकीका प्रमुख लक्ष्मण न्यौपाने कमाण्डको टोली र स्थानीयले ४ घण्टा गस्ती गरेर उनीहरूले प्रयोग गरेका ४ वटा घरबाट सबै सामानसहित पक्राउ चार जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा भारतको विहार वीरपुरका ५२ वर्षीय मनिस धामी, सोही ठाउँका ५५ वर्षीय इन्द्रजित धामी, २१ वर्षीय पिन्टु धामी, ३१ वर्षीय सुधीर धामी, २० वर्षका रविन धामी, ४८ वर्षका अरुण धामी र २८ वर्षका वुदुवा धामी रहेको वडा प्रहरी कार्यालय रामनगरले बताएको छ ।

सिर्जनानगरका ७ वटा घरमा सञ्चालन गरिएको यस्तो कारखानाबाट नक्कली मह बरामद गरिएको हो । बुटवलका अन्य ठाउँमा पनि यसरी नै नक्कली मह तयार पारी बिक्री गरिएको हुन सक्ने आशंका पनि गरिएको छ । सोही अनुसार प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

उनीहरूले मौरीका सडे गलेका चाकालाई चिनीपानीमा भिजाएर सक्कली मह भन्दै बजारमा बेच्ने गरेको वडा सदस्य नकुल शाहीले बताए ।

‘सडेका मौरीका किरा तथा चाकामा चिनी घोलेर रुपन्देही तथा जिल्ला बाहिरसमेत बजारमा पुर्‍याएर प्रतिकिलो १६ सय रुपैयाँमा बिक्री गर्ने गरेको भेटिएको उनले बताए ।

टोलीले गस्तीका क्रममा अवैध रूपमा नक्कली मह उत्पादन गरी विक्री गर्ने गरेको भेटेपछि खानतलासी गर्ने क्रममा ४ क्विन्टल बढी नक्कली मह फेला परेको थियो ।

प्रकाशित मिति: ३१ बैशाख २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्