‘मोखा’ चक्रवातले धनजनको क्षति, रोहिङ्ग्या शरणार्थीको विजोग


 


काठमाडौं, वैशाख ३१ । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत बङ्गलादेश र म्यानमारमा ठूलो जनधनको क्षति भएको छ ।

पछिल्लो समय यसको प्रभाव झनै बढ्दो स्थितिमा देखिएको छ । छेउछाउका अन्य राष्ट्रहरूमा पनि यसको प्रभाव पर्नसक्ने मौसमविद्हरूको अनुमान छ । यसको सबैभन्दा ठुलो असर घरबारविहीन अवस्थामा रहेका लाखौं रोहिङ्ग्या शरणार्थीमा पनि परेको छ ।

‘मोखा’ नाम दिइएको शक्तिशाली चक्रवातका कारण उनीहरूको जनजीवन कष्टकर बनेको समाचारमा जनाइएको छ ।

घरबारविहीन रोहिङ्ग्या शरणार्थीका लागि बनाइएका घरहरू अस्थायी प्रकृतिका छन् । उनीहरू बाँस र खरले बनाएको छाप्रोमा बस्दै आएका छन् । उनीहरू बस्दै आएको क्षेत्रमा चक्रवातको सबैभन्दा ठुलो प्रभाव देखिएको छ ।

शक्तिशाली ‘मोखा’ चक्रवातले थुप्रै रोहिङ्ग्या शरणार्थीको आश्रय स्थल भत्काएको छ । एउटै छाप्रोमा थुप्रै शरणार्थी कोचाकोच गरेर बस्नुपर्ने अवस्था छ । चक्रवातका कारण विकसित भएको तीव्र गतिको हावा, वर्षा, पहिरोका कारण उनीहरूको जनजीवन झनै कष्टकर बनेको छ ।

रोहिङ्ग्या शरणार्थीका लागि बनाइएको आश्रयस्थलले ४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा बहने हावालाई मात्र थेग्नसक्ने विज्ञहरूले बताएका छन् । तर, यतिबेला कक्स बजार क्षेत्रमा त्योभन्दा निकै तीव्र गतिको वाहा चलिरहेको छ ।

‘तल्लो क्षेत्रमा बसेका शरणार्थीहरू सबैभन्दा बढी प्रभावित भएका छन् । उनीहरुले बाढी पहिरोको पनि सामना गर्नुपरेको छ । चक्रवातका कारण उनीहरुको आश्रय स्थल भत्किएको छ ।

चक्रवातका कारण खासगरी वृद्ध, बालबालिका र महिलाहरू सबैभन्दा बढी प्रभावित भएका छन् । रोहिङ्ग्या शरणार्थीको शिविरमा आश्रय स्थलसँग खानपिनको पनि समस्या देखिएको छ ।

आफूहरूमाथि हिंसात्मक दमन बढ्दै गएपछि थातथलो छाडेर म्यानमारबाट भागेका लाखौं रोहिङ्ग्या बंगलादेशमा शरण लिन पुगेका थिए । उनीहरू म्यानमारको राखिन राज्यबाट विस्थापित भएका हुन् । उनीहरू घना जङ्गल र डरलाग्दा बाटाहरू काटेर बंगालको खाडी पार गरी बङ्गलादेश पुगेका थिए ।

अहिले करिब १० लाख रोहिङ्ग्या शरणार्थी बंगलादेशको कक्स बजार क्षेत्रमा आश्रय लिइरहेका छन् । त्यसैले यतिबेला बंगलादेशको कक्स बजार विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरका रूपमा परिणत भएको छ । पछिल्लो समय उनीहरूको व्यवस्थापनमा राष्ट्र संघले सक्रियता देखाउँदै आएको छ ।

प्रकाशित मिति: ३१ बैशाख २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्