रेसुङ्गा विमानस्थलबाट व्यवसायिक उडान सुरु


 


गुल्मी, वैशाख २९ । गुल्मीको रेसुङ्गा विमानस्थलबाट नेपाल वायुसेवा निगमले व्यवसायिक उडान सुरु गरेको छ । शुक्रबार नेपाल एयरलाइन्सको (नाइन एन एबिटी) कल साइनको जहाजले व्यवसायिक उडान गरेको हो ।

काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान भएको थियो । चालक दलका सदस्य बाहेक १३ जना यात्रु ल्याएको रेसुङ्गा विमानस्थलका एयर ट्राफिक कन्टोलर आयुशा कार्कीले बताए ।

अब रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन मंगलवार र शुक्रवार उडान हुनेछ । गुल्मीबाट काठमाडौंसम्म गाडीको यात्रा झण्डै १३ देखि २२ घण्टासम्म यात्रा गर्नुपर्ने अवस्थामा रहेका गुल्मेलीहरु व्यवसायिक उडान सुरु भएसँगै खुसी व्यक्त गरेका छन् । व्यवसायिक उडान सुरु हुनुले अब जिल्लामा पर्यटकहरु पनि भित्रिने यहाँका व्यवसायीहरुमा आशा रहेको छ ।

रेसुङ्गा विमानस्थलबाट काठमाडौंसम्मको शुल्क प्रतिव्यक्ति ६ हजार ३ सय रुपैयाँ लाग्नेछ । त्यस्तै काठमाडौंबाट रेसुङ्गा विमानस्थलसम्म ६ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

काठमाडौंबाट रेसुङ्गा विमानस्थल सम्मको दुरी ५० मिनेटको रहेको छ । विमानस्थलमा गत वैशाख १५ गते नेपाल एयरलाइन्सको १८ सिट क्षमताका जहाजले परिक्षण उडान गरेको थियो ।

त्यस्तै गत पुस महिनाको २४ मा तारा एयरको १८ सिट क्षमताको जहाजले प्रर्दशन उडान गरेको थियो । विमानस्थलमा २०७५ जेठ २५ गते तारा एयरको जहाजले धुले उडान गरेको थियो । २०६३ सालमा रेसुङ्गा विमानस्थलको शिलान्यास संस्कृति पर्यटन तथा नागरिक नागरिक उड्डयन मन्त्री प्रदीप ज्ञवालीले गरेका थिए । तर ०६३ सालमा शिलान्यास भएपनि विमानस्थलको निर्माणको काम २०७२ पछि मात्र सुरु भएको थियो ।

रेसुङ्गा विमानस्थल धावनमार्गको ५ सय २० मिटर लम्बाई र चौडाई २० मिटर रहेको छ । १ सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिकरण गरिएको थियो ।

प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्