मन्त्री छान्न उपेन्द्र दबाबमा


 


काठमाडौं । जनता समाजावदी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव रिक्त रहेको वन तथा वातावरण मन्त्रालयमा मन्त्री सिफारिस गर्ने विषयमा पार्टीभित्रै चर्को दबाबमा परेका छन्। दबाबकै कारण झण्डै डेढ महिनासम्म उनले कसैलाई सरकारमा पठाएका छैनन् ।

जसपा गत चैत १७ गते सरकारमा गएको थियो । सरकारमा जसपाले दुईवटा मत्रालय पाएको छ । यादवले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अशोक राइलाई मात्र पठाएका छन । बाँकी एक मन्त्रालय वन तथा वातावरण मन्त्रालयमा कसैलाई पठाएका छैनन् ।

रिक्त रहेको मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा बुधबार बसेको कार्यकारिणी समितिको बैठकमा छलफल हुने अनुमान धेरैले गरेका थिए । यसअघि उनले ‘वैशाख २७ गते पछि सरकारमा पठाउँछु’ भन्ने अभिव्यक्ति दिने गरेका थिए । त्यसैले बुधबारको बैठकमा यस बारेमा टुंगो लाग्ने अनुमान गरिएको थियो ।

जसपाको कार्यकारिणीले यसअघि नै मन्त्री छान्ने सबै अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिइसकेको छ । बुधबार बसेको बैठकमा यस बारेमा यादवले कुरा उठाएनन । उनी बुधबार नै साँझ वीरगञ्जतर्फ लागेका छन् । आइतबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ। त्यसपछि मात्र जसपाले सरकारमा पठाउने सम्भावना रहेको जसपाको एक नेताले बताए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति: २८ बैशाख २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्