सुदूरपश्चिम : नागरिक उन्मुक्ति संसदीय दलको नेतालाई पदबाट हटाइयो


 


धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेता रामेश्वर चौधरीलाई पदबाट हटाएको छ । बुधबार बसेको संसदीय दलको बैठकले बहुमतका आधारमा दलका नेता रामेश्वरलाई हटाएको हो । सांसद घनश्याम चौधरीलाई दलको नेता चयन गर्ने निर्णय गरिएको सांसद लक्ष्मणकिशोर चौधरीले बताए ।

बैठकमा रामेश्वर चौधरी अनुपस्थित थिए । उनको अनुपस्थितिमा प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीको अध्यक्षतामा बसेको बैठकमा प्रदेशसभामा कूल सात जना सांसद रहेको नागरिक उन्मुक्तिका पाँच जना सांसद बैठकमा उपस्थित थिए । बैठकमा चार जनाको बहुमतबाट दलको नेता बदल्ने निर्णय गरिएको लक्ष्मणकिशोरले बताए । उनका अनुसार बैठकमा सहभागी सांसद इन्दिरा गिरीले दलको नेता बदल्ने निर्णयमा हस्ताक्षर गरिनन् ।

सांसदहरू रामेश्वर चौधरी र टीका थापा भने बैठकमा अनुपस्थित थिए । सांसदहरू लक्ष्मणकिशोर चौधरी, धनश्याम चौधरी, खुसीराम चौधरी र कैलाश चौधरी गरी चार जनाले बहुमतका आधारमा उक्त निर्णय गरेका हुन् ।

प्रमुख सचेतक रहेका लक्ष्मणकिशोर आफैले पनि पद छाडेका छन् । उनको ठाउँमा सांसद खुसीराम चौधरीलाई प्रमुख सचेतक बनाइएको छ । बैठकले सचेतकको जिम्मेवारी कैलाश चौधरीलाई दिएको छ । रामेश्वरको नेतृत्वमा यसअघि दलको बैठक नै बस्न नसकेको सांसदहरुको भनाइ छ । रामेश्वरलाई हटाउने निर्णय ‘हाइकमान्डकै निर्देशन भएको बताइएको छ ।

प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्