नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर्न एकीकृत समाजवादीको माग


 


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न दोषीलाई कारबाही गर्न माग गरेको छ । पार्टीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न दोषीलाई कानुनी कारबाही गर्न माग गरेको हो ।

बैठकले उच्च तहका राजनीतिक र प्रशासनिक अधिकारी संलग्नता देखिएको सो घटना आर्थिक अनियमिता, मानव तस्करी र राष्ट्रघातीसमेत भएको ठहर गरेको महासचिव घनश्याम भुसालले जानकारी दिए ।

उनले छानबिनको दायरा बढ्दै जाँदा अनुसन्धानलाई नाजायज प्रभाव पार्ने गतिविधि हुनसक्ने भएकाले त्यसप्रति सरकारलाई सजग हुन आग्रह गर्ने निर्णय गरिएको बताए ।

विगतमा यस्ता दबाइएका अन्य घटनामा पनि यसैगरी छानबिन अगाडि बढाउन माग गर्दै बैठकले कुनै पनि शक्तिले पार्ने कुनै पनि दबाब वा प्रभावबाट यो काण्डको अनुसन्धान र कारबाही प्रक्रिया कमजोर हुन नदिन सबै दोषीमाथि कारबाही गर्न सरकार दृढतापूर्वक अघि बढ्नुपर्ने सुझाब दिएको छ ।

प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्