पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ


 


एजेन्सी, वैशाख २६
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्।

इस्लामावादस्थित उच्च अदालत बाहिरबाट उनलाई प्रहरीले पक्राउ गरेको अलजजिराले जनाएको छ। उनी अदालतमा उपस्थित हुन पुगेका थिए।

पाकिस्तान तहरिक-इ-इन्साफ (पिटिआई)का नेता फवाद चौधरीले मंगलबार ट्विट गर्दै खानलाई पक्राउ गरेको जानकारी दिएका हुन्।

पिटिआईले राखेको भिडिओमा उनलाई ठूलो सुरक्षाकर्मीको समूहले घेरेर गाडी भित्र हालेको देखिन्छ।

इस्लामावाद प्रहरीले ट्विटरमार्फत उनलाई ‘कादिर ट्रस्ट केस’मा पक्राउ गरेको जानकारी दिएको छ। उनलाई पक्राउ गर्न ठूलो सुरक्षाकर्मी परिचालन गर्नुपरेपनि अहिले अवस्था सामान्य रहेको जनाएको छ।

गत वर्ष प्रधानमन्त्री पदबाट राजीनामा दिएसँगै उनीविरूद्ध विभिन्न मुद्दाहरू लगाइएको थियो। अलजजिरासँग गरेको एक कुराकानीमा उनले आफूविरूद्ध कम्तिमा पनि ८५ वटा मुद्दा भएको र दैनिक कुनै न कुनै मुद्दा हाल्ने गरेको बताएका थिए।

उनीविरूद्ध भ्रष्टाचार, आतंकवाद, अदालतको मानहानी, दंगा गरेको आरोप छ।

प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्