हिन्द महासागरमा चीनले किन खडा गर्दैछ ‘रडार स्टेशन’ ?


 


एजेन्सी, वैशाख २४
चीन र अमेरिका तथा अन्य साझेदारबीचको शक्ति संघर्षले हिन्द महासागर क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको छ ।

आफ्नो हित सुरक्षित गर्नका लागि यस क्षेत्रका रणनीतिक स्थानहरुमा दुबै पक्षले सैनिक उपस्थितीलाई बढाएका छन् । यसबाट यस क्षेत्रका साना राष्ट्रहरुमा तीव्र दबाब उत्पन्न भएको छ । यी राष्ट्रका गतिविधिलाई ठूला देशहरुले निकै चासोपूर्वक हेरिरहेका छन् ।

हालै चीनले म्यान्मार र श्रीलंकामा ‘रडार स्टेसन’ निर्माण गरेको विषयले चर्चा पाएको छ । चीनको यस्तो विस्तारवादी कदमले यस क्षेत्रमा चिन्ता बढाएको छ ।

अमेरिकी सरकारसँग निकट सम्बन्ध रहेको ठानिने कम्पनी मक्सार टेक्नोलोजिजले जनवरीमा सार्वजनिक गरेको भू उपग्रह तस्वीरमा म्यान्मारको ग्रेट कोको टापुमा भौतिक निर्माणका कार्यलाई पुन सुरु भएको पाइएको थियो । भू उपग्रह तस्वीरमा विमानस्थलमा दुई नयाँ ‘ह्याङ्गर’, नयाँ भवन र थप पूर्वाधार निर्माणका लागि जग्गा तयार पारिएको देखिएको थियो ।

‘सलामी स्लाइसिङ’ रणनीतिअन्तर्गत चीनले यस्ता गतिविधि गर्दै आएको छ । सुरुमा हानीरहित देखिने चीनका गतिविधि भविष्यमा रणनीतिक रुपमा निकै महत्वपूर्ण भएर निस्किन्छ । उदाहरणका लागि चीनले अरु देशका जलक्षेत्रको सीमा मिच्दै दक्षिण चीन सागरमा शोध र अनुसन्धानको बहाना बनाएर पानीजहाज पठाउने गरेको छ । चीनलाई यस्तो छुट दिइनु खतरनाक र मूर्खतापूर्ण हुनसक्छ ।

चाथम हाउसको रिपोर्टमा डामियन सिमोन र जोन पोलकले म्यान्मारको ग्रेट कोको टापुलाई आफ्नो नौसेनाविरुद्ध जासुसीका लागि चीनले प्रायोग गर्नसक्ने भारतको चिन्ता रहेको उल्लेख गरेका छन् । कोको टापुमा विकसित पछिल्ला घटनाक्रमले क्षेत्रीय अस्थीरता बढाउने जोखिम देखिएको छ ।

यसबाहेक भारतीय सञ्चार माध्यमले रक्षा स्रोतलाई उद्धृत गर्दै चीनले श्रीलंकाको दक्षिणी क्षेत्रमा रडार स्टेशन निर्माण गर्न लागेको जनाएका छन् । यसबाट हिन्द महासागर क्षेत्रमा चीनको विस्तारवादी उद्देश्यबारे संशय पैदा भएको छ । चीनले अमेरिकी आकाशमा जासुसी बेलुन उडाएसँगै चीनबाट उत्पन्न हुने सुरक्षा चुनौतिलाई आधारहीन भन्न नमिल्ने विश्लेषकहरु बताउँछन् ।

चीनले श्रीलंकामा स्थापना गर्न लागेको रडार स्टेशनबाट हिन्द महासागरमा भारतीय नौसैनिक गतिविधिको निगरानी हुने मात्र नभई दक्षिण भारतमा रहेका रणनीतिक रुपमा महत्वपूर्ण कुडनकुलम र कालपक्कम आणविक शक्ति केन्द्रमाथि समेत जोखिम उत्पन्न हुने देखिन्छ ।

यी शक्ति केन्द्र भारतीय आणविक ऊर्जाका लागि महत्वपूर्ण मानिन्छन् । यी शक्ति केन्द्रमा केही बाधा उत्पन्न भएमा भारतीय ऊर्जा सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुनेछ ।

यसबाहेक श्रीलंकामा स्थापना हुन लागेको रडार स्टेशनबाट हिन्द महासागरको बिचमा रहेको अमेरिकी सैन्य आधार डिएगो गार्सियाको समेत निगरानी गर्न सकिनेछ । यसले उसैपनि तनावपूर्ण रहेको हिन्द महासागरको भू राजनीतिक अवस्थालाई अझ खलबल्याउने बनाउने बताइन्छ ।

म्यान्मार र श्रीलंकामा चीनको उपस्थितीलाई भारतले निकै चासोपूर्वक हेर्ने गरेको छ । भारतीय सञ्चार माध्यमले यस क्षेत्रमा चीनको विस्तारलाई भारतलाई घेर्ने चिनियाँ रणनीतिको रुपमा व्याख्या गर्दै आएका छन् ।

म्यान्मारमा हाल सत्तामा रहेको सेना र चीनबीचको सम्बन्ध १९८० को दशकयता सुमधुर रहँदै आएको छ । विश्लेषकहरु म्यान्मार पछि गएर चीनको उपग्रह राज्य बन्नसक्ने चिन्ता पनि व्यक्त गर्ने गरेका छन् ।

म्यान्मारको हुन्टा सरकारलाई चीनले हतियारको आपूर्ति पनि गर्दै आएको छ । यसबाहेक मिडिया, प्राज्ञिक साहित्य र पुस्तकहरुमा म्यान्मारमा चीनले सैन्य आधार स्थपना गरेको हल्ला पनि सुनिने गरेको छ । यसले पनि हिन्द महासागर क्षेत्रमा चीनको प्रभाव बढिरहेको र यसले भू राजनीतिक अस्थीरतालाई बढावा दिने चिन्ता उत्पन्न हुने गरेको छ ।

चीन, म्यान्मार र श्रीलंकाले हालै विकसित सम्बन्धबारे विस्तृत सूचना दिन पनि इच्छा देखाएका छैनन् । यी मुलुकहरुले जारी गर्ने विज्ञप्तिमा पनि आर्थिक एवम् रक्षा सम्झौताबारे स्पष्ट संकेत मिल्दैन ।

म्यान्मारको सत्तारुढ हुन्टामा लोकतन्त्र स्थापना गर्न मुलुकमा विदेशी सैन्य हस्तक्षेपलाई लिएर त्रास रहेको बुझिन्छ । तर यसबाहेक हुन्टाले आफ्नो रणनीतिक उद्देश्यलाई स्पष्ट पार्न सकेको छैन । यदी चीनलाई केही लुकाउनु छैन भने श्रीलंका र म्यान्मारसँगको सम्बन्धबारे स्पष्ट रुपमा सार्वजनिक गर्नुपर्छ ।

प्रकाशित मिति: २४ बैशाख २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्