फरार सांसद कोइरीको बिरामी बिदा अस्वीकृत


 


काठमाडौं, वैशाख १६
नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीलाई बिरामी बिदा दिने प्रस्ताव प्रतिनिधि सभाबाट अस्वीकृत भएको छ । शुक्रबार साँझ बसेको दोस्रो बैठकले कोइरीको बिरामी बिदा दिने प्रस्ताव अस्वीकृत गरेको हो ।

केही दिनअघि सांसद कोइरीले आफू बिरामी भएको पत्र संसद सचिवालयमा पठाउनुभएको थियो । त्यहीअनुसार सभामुख देवराज घिमिरेले शुक्रबारको बैठकमा सांसद कोइरीसहित पाँच सांसद बिरामी भएको सन्देश सुनाउनुभएको थियो । तर, कोइरी बिरामी नभएर फरार भएको र आफूसँग भारतमा लुकेको प्रमाण रहेको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेले पक्राउ गर्न सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो ।

रास्वपाको सांसदले कोइरीको विषयमा विरोध गरेपछि स्थगित संसद् बैठक केही बरेपछि पुनः सञ्चालन गरिएको थियो ।

दोस्रो बैठकमा सभामुख घिमिरेले सांसद लक्ष्मी कोइरीको बिरामी बिदा अस्वीकृत भएको सन्देश सुनाउनुभएको थियो । साथै, प्रतिनिधि सभाको आगामी अधिवेशनमा कोइरीबारे कानुनबमोजिम कारबाही गर्ने सभामुखको प्रतिबद्वता जनाउनुभएको छ ।

बैठकले सांसदहरु मनोरमा शेरचन, विनाकुमार थनेत, चन्द्रकान्त भण्डारी र वर्षमान पुनको बिदा भने स्वीकृत गरेको छ ।

प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्