उपेन्द्र यादव बारा–२ बाट निर्वाचित भएपछि सिके राउतले दिए बधाई


 


काठमाडौं, वैशाख १३
जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा–२ बाट विजयी भएका उपेन्द्र यादवलाई शुभकामना तथा बधाई दिएका छन् ।

गत वैशाख १० गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बारा–२ बाट विजयी भएका यादवलाई बुधबार बिहान सामाजिक सञ्जालमार्फत राउतले बधाई दिएका हुन् ।

‘जसपाका अध्यक्ष श्री उपेन्द्र यादवज्यूलाई बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा विजयी हुनु भएकोमा उहाँलगायत जसपाका सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई हार्दिक बधाई,’ राउतले बधाई दिँदै भने, ‘निर्वाचन हो, ३४ जना उम्मेदवारमध्ये एउटाले न जित्ने हो । अन्य पार्टीहरूले पनि लोकतन्त्रप्रति आफ्नो जिम्मेबारी सहृदयताका साथ वहन गरेको छ ।’

जनमतले पार्टीले जनताको माया पाएको भन्दै राउतले मतदान गर्ने सबैलाई धन्यवाद भनेका छन् । राउतले भन्नुहुन्छ, जनमत पार्टीले समेत जनताको अगाध माया पाएको छ । जनमत पार्टीको तर्फबाट हामीलाई मतदान गर्नुहुने सम्पूर्ण बारावासीलाई कोटिकोटि प्रणाम तथा जनमत पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूलाई धेरै धेरै धन्यवाद’

बारा–२ मा जसपाका यादव २८ हजार ४१५ मतले विजयी हुनुभएको छ भने जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मत प्राप्त गरी दोस्रो स्थानमा रहे ।

प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्