रवि लामिछानेले भने–सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ


 


काठमाडौं, वैशाख १२
चितवन–२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् ।

केहिबेर अघि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिंदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताएका हुन् ।

उनले भने–‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ । त्यसलाई कायम राखिराख्न कारण देखेको छैन । सरकारमा जाने त सम्भावनै छैन ।’

सभापति लामिछानेले सरकारको कामप्रति आफ्नो पार्टी सन्तुष्ट नभएको बताउँदै अब अस्थिरता नहोस भनेर गलतलाई नबोक्ने बताए । तर, काठमाडौं फर्किएपछि समीक्षा गरेर सरकारसँग छलफल र वार्ता गर्ने उनको भनाइ छ ।

नयाँ सरकारको तयारीबारे पनि राजनीतिक छलफल गर्ने उनले बताए ।

चितवनमा अहिले मतगणना जारी छ । जारी मतगणना अनुसार लामिछानेले ४५ हजार ८४२ मत पाएका छन् भने नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ८ हजार ४२५, नेकपा एमालेका रामप्रसाद न्यौपाने ८ हजार ३३० र राष्ट्रिय प्रजातन्त्र पार्टीका जीवलाल पुरी ३२० मत पाएका छन् ।

प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्