उपनिर्वाचन : ६५ जना उम्मेदवार चुनावी मैदानमा


 


काठमाडौं, वैशाख १०
बारा २, चितवन २ र तनहुँ १ का विभिन्न मतदान स्थलहरुमा बिहान ७ बजेबाट मतदान सुरू भएको छ । आइतबार हुने प्रतिनिधि सभाका तीन वटा क्षेत्रको उपनिर्वाचनमा ६५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनका लागि राजनीतिक दलका ३३ र स्वतन्त्र ३२ जना उम्मेदवार मैदानमा रहेका हुन् ।

तनहुँ १ मा ९ जना उम्मेदवार रहेकोमा ती सबै दलीय पृष्ठभूमिका छन् । सो क्षेत्रमा नेपाली कांग्रेसबाट गोबिन्द भट्टराई, नेकपा (एमाले) बाट सर्बेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेलगायत चुनावी प्रतिस्पर्धामा छन् ।

यस्तै, चितवन २ मा २४ जना उम्मेदवार रहेकोमा १२ जना उम्मेदवार विभिन्न दलबाट र थप १२ जना स्वतन्त्र छन् । यस क्षेत्रमा कांग्रेसबाट जित नारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र रास्वपाबाट रवि लामिछानेलगायत चुनावी प्रतिस्पर्धामा छन् ।

बारा २ मा १२ जना दलका उम्मेदवार रहेका छन् भने २२ जना स्वतन्त्र उम्मेदवार छन् । यस क्षेत्रमा जनमत पार्टीका शिवचन्द्र कुशबाह, सत्तारुढ गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल र रास्वपाबाट रमेश खरेललगायत चुनावी प्रतिस्पर्धामा छन् ।

बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि, चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता प्रकरणमा कसुरदार ठहर भएपछि र तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यी स्थानमा सांसद पद रिक्त भएकाले तीनवटै स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति: १० बैशाख २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्