बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन सुरु


 


काठमाडौं, वैशाख १०
प्रतिनिधिसभातर्फ रिक्त रहेको तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । बेलुका ५ बजे सम्म मतदान हुनेछ।

बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान सुरु भएको हो ।

चितवन–२ बाट विजयी रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए पछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले पुनः उम्मेदवारी दिएका छन् भने नेकपा एमालेबाट रामप्रसाद न्यौपाने तथा नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

यसैगरी बारा–२ बाट विजयी रामसहाय यादव उपराष्ट्रपतिमा तथा तनहुँ–१ बाट विजयी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए पछि सो रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

बारा–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहा मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन भने तनहुँ–१ मा नेकपा एमालेका सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका गोबिन्द भट्टराई र राष्ट्रिय स्वन्तत्र पार्टीका स्वर्णिम वाग्लेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।

प्रकाशित मिति: १० बैशाख २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्