ओमान विरुद्ध नेपालको शानदार जित


 


काठमाडौं, बैशाख ८
कुशल मल्लको विष्फोटक शतकमा नेपालले एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्धको म्याचमा शानदार जित दर्ता गरेको छ । टस हारेर ब्याटिङ गर्दै नेपालले दिएको ३११ रनको विशाल लक्ष्य ओमानले पछ्याउन सकेन । नेपालले ओमानलाई ८४ रनले हराएको हो ।

नेपालले ४६.३ ओभरमा ओमानको नवौं विकेट ढाल्दै नेपालले ८४ रनको जित दर्ता गरेको हो । ओमानका दशौं नम्बरका ब्याट्सम्यान घाइते भएर क्रिजमा उत्रिन नसकेपछि ९ विकेटमै खेल समाप्तिको घोषणा गरिएका थियो । ओमानले २२६ रन मात्रै जोड्न सक्यो ।

कुशलले एकदिवसीयमा आफ्नो पहिलो शतक पुरा गरेका छन्, त्यो पनि केवल ५९ रनमा । उनको विष्फोटक इनिङमा १० छक्का र ९ चौका सामेल थिए । कुशलले मध्यक्रमका भरपर्दा ब्याट्सम्यान आरिफ शेखसँग ७५ रनको महत्वपूर्ण साझेदारी गरे । आरिफ ४३ बलमा २९ रन बनाएर आउट भए।

कुशल र सोमपालबीच ४९ रनको अर्को महत्वपूर्ण साझेदारी भयो । ४०.४ ओभरमा नेपालले २२१ बनाउँदा कुशल १०८ रनको निजी स्कोरमा पेभिलियन फर्किए ।

कुशल आउट भएपछि नेपालको ब्याटिङ फेरि दवावमा परेको थियो । तर, सोमपाल कामीले सुझबुझपूर्ण ब्याटिङ गर्दै नेपाललाई अहिलेसम्मकै उच्च योगफलमा पुर्याए । उनलाई दशौं नम्बरमा आएका करण केसीले साथ दिए । उनीहरुबीच नवौं विकेटका लागि ६१ रनको साझेदारी भएको थियो ।

सोमपालले ४८ बलमा ६३ रन बनाएर अविजित रहे । उनको इनिङमा ९ चौका सामेल थिए । यस्तै करणले एक छक्का र तीन चौकासहित १५ बलमा २९ रन बनाएर अविजित रहे ।

सन्दीप लामिछानेले छोटो अन्तरालमा ३ विकेट लिएपछि ओमान खेलमा फर्किन सकेन । नेपालका लागि करण केसीले पनि ३ विकेट लिए भने ललितले २ र दिपेन्द्र सिंह ऐरीले पनि २ विकेट लिए ।

प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्