१३ जना प्रहरी नायव महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह


 


काठमाडौं, वैशाख ७
नेपाल सरकार उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको २०८० वैशाख ६ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका १३ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा कुबेर कडायत, केदार ढकाल, बिष्णु कुमार केसी, भरत बहादुर बोहरा, रबिन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ बिनोद पोखरेल र बिकाश राज खनाल रहनुभएको छ ।

समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिको अवसरका लागि नेपाल सरकारप्रति आभार व्यक्त गर्दै पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई बधाई दिनुभयो ।

नेपाल सरकार गृहमन्त्रालय लगायत नेतृत्व तह प्रहरी संगठनलाई सुधार, सुदृढिकरण र सवलिकरण गर्नमा प्रतिवद्ध रहेकोले सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरू एकजुट भएर प्रहरीको काम कारवाहीलाई अझ बढी प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । पदोन्नति भएका प्रहरी अधिकृतहरूले आफूले प्राप्त गरेको प्रदीय जिम्मेवारीलाई अझ फरक ढङ्ले सम्पादन गरी मनोवृत्तिगत परिवर्तन गर्दै रूपान्तरण हुन उहाँले निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले व्यक्तिगत स्वार्थ त्यागेर अगाडि बढेमा काम गर्नका लागि मनोबल, उत्प्रेरणा र इच्छाशक्ति प्राप्त हुने चर्चा गर्दै प्रहरीको कार्यसम्पादन तथा प्रहरीले प्रवाह गर्ने सेवामा स्तरोन्नति हुने उल्लेख गर्नुभयो ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: ७ बैशाख २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्