महाभियोग प्रस्ताव विधिसम्मतरुपमा आएन – सांसद


 


samsadकाठमाडौं, कात्तिक २९

व्यवस्थापिका–संसदको आजको बैठकमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्तविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल जारी रह्यो ।

उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद मोहनबहादुर बस्नेतले सदनमा प्रस्तुत् महाभियोग प्रस्ताव विधिसम्मतरुपमा नआएको बताए ।

सत्तासाझेदार दललाई जानकारी नै नदिइ महाभियोग प्रस्ताव सदनमा पेस भएको बताउँदै उनले प्रस्तावमा नै समस्या रहेको उल्लेख गरे ।

सांसद युवराज ज्ञवालीले नेपालको संविधान, व्यवस्थापिका–संसद कार्यसन्चालन नियमावलीअनुसार नै सदनमा प्रस्ताव दर्ता गरिएको भन्दै कोही–कसैले आशंका नगर्न र प्रस्तावको पक्षमा मतदान गर्न सांसदहरुलाई आग्रह गरे ।

अख्तियारको प्रमुख पदमा बसेर कार्कीले संसदीय समितिको अपमान गरेको, अदालतको अपमान गरेको, जनप्रतिनिधिमूलक संस्थालाई अटेर गरिएको, कर्मचारी प्रशासनलाई मनोवैज्ञानिकरुपमा त्रस्त बनाएको र जनतालाई आतंकित बनाएकाले कारबाहीको प्रक्रिया अगाडि बढाइएको उल्लेख गरे ।

सांसद श्यामकुमार श्रेष्ठले मुलुकका कुनैपनि व्यक्ति संविधान र कानुनभन्दा माथि नभएकाले पदको दुरुपयोग गर्ने जो–कोहीलाई पनि कानुनको दायरामा ल्याउन महाअभियोग प्रस्ताव ल्याइएको बताए ।

उनले सो प्रस्ताव दर्ता गर्नुअगावै सार्वजनिक महत्वको प्रस्तावकारुपमा सदनमा दर्ता गरिएकाले सदनको सम्पूर्ण सदस्यले उचित निर्णय गर्नुपर्नेमा जोड दिए ।

सांसद शिवलाल थापाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्ति प्रक्रिया नै गलत भएकाले महाभियोग प्रस्तावमार्फत त्यसलाई सच्याउने मौका आएको उल्लेख गर्दै उनलाई सो पदमा नियुक्ति गर्नुपर्नाका कारण प्रमुख तीन दलका नेताले सदनलाई दिनुपर्ने बताए ।

सांसद रामेश्वर फुयाँलले अख्तियार प्रमुखले समानान्तर सरकार चलाएको, संसदीय समितिलाई अटेर गरेकाले संविधानको परिपालनाका लागि महाभियोग प्रस्ताव पेस गरिएको विचार राखे ।

अर्का सांसद गंगालाल तुलाधरले लोकतन्त्रको रक्षाका लागि सदनमा महाभियोगको प्रस्ताव दर्ता गरिएकाले त्यसलाई पारित गर्नुपर्ने बताए ।

व्यवस्थापिका–संसदको अर्को बैठक आगामी मंसिर १ गते ११ बजे बस्नेछ ।

प्रकाशित मिति: २९ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्