उपनिर्वाचन : उम्मेदवारविरुद्ध परेका उजुरीको छानबिन गरिँदै, आजै नामावली प्रकाशन


 


काठमाडौं, चैत्र २२
आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि उम्मेदवारी दिएकाहरूको नामावली आज प्रकाशन गरिँदै छ ।

निर्वाचन आयोगले मंगलबार उजुरी आह्वान गरेको थियो । उम्मेदवारविरुद्ध मंगलबार परेका उजुरीको छानबिन गरी आजै साँझ ६ बजेभित्र उम्मेदवारको नामावली सार्वजनिक गर्ने तयारी गरेको हो ।

तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुँदै छ। त्यसका लागि सोमबार तीनै क्षेत्रमा उम्मेदवारी दर्ता गराइएको थियो। उम्मेदवारहरूविरुद्ध उजुरीका लागि मंगलबार समय छुट्याइएको थियो।

यस क्रममा चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चारवटा उजुरी परेका छन्। सोअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले रविलाई आज दिउँसो १ बजेभित्र स्पष्टीकरण पेस गर्न भनेको छ।

प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्