ब्वाइफ्रेन्डसँग कुरा गर्न नदिएको झोकमा किशोरीद्वारा बाआमाको हत्या


 


एजेन्सी, चैत्र १७
उत्तर प्रदेशको बुलन्दसहर क्षेत्रमा आफ्नै १५ वर्षीया छोरीले आमाबाबुको हत्या गरेकी छन् । हत्या भएको १५ दिनपछि उनी पक्राउ परेकी हुन्।

हत्या आरोपित कक्षा ८ मा पढ्ने उनले केटाहरूको संगत गर्न आमाबाबुले नदिएको झोकमा उनीहरूलाई मारेको प्रहरीसमक्ष स्वीकार गरेकी छन्।

मृतक दम्पतीका चार छोरीमध्ये जेठी उनले १५ दिनअघि आमाबाबुलाई मारेको स्वीकार गरेकी शिकारपुर प्रहरी कार्यालयले जनाएको छ।

केटाहरूसँग कुराकानी गरेकामा आमाबाबुले गाली गर्दा रिसाएकी उनले दैनिक काम सकेर घर आएका आमाबाबुलाई चियामा निद्रा लाग्ने औषधि हालेर खुवाएकी थिइन्। औषधिको प्रभावले मस्त निदाएका आफ्ना बाआमाका शिरमा उनले निर्ममतापूर्वक पटक–पटक बञ्चरो प्रहार गरेकी थिइन्।

४८ वर्षीय मोहम्मद शब्बीर र ४४ वर्षीया रेहाना केही दिनदेखि नदेखिएका तथा उनीहरूको घरबाहिर रगतका टाटा देखेपछि छिमेकीले आपराधको आशङ्का प्रहरीलाई खबर गरेका थिए।

अनुसन्धानका क्रममा प्रहरीले १६ जनालाई पक्राउ गरेको थियो तर अभियुक्तको मोबाइल फोनमा भेटिएको ‘अडिओ’का आधारमा कठोर रुपमा केरकार गरेपछि उनले अपराध स्वीकार गरिन्।

हत्यामा प्रयोग गरिएको हतियार पनि प्रहरीले बरामद गरेको छ। अभियुक्तलाई बाल सुधार गृहमा पठाइएको छ। निद्राको औषधि बेच्ने २२ वर्षीय मोहम्मद अकिललाई पनि पक्राउ गरिएको छ। रासस

प्रकाशित मिति: १७ चैत्र २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्