आजको मौसम : कोशी र गण्डकी प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना


 


काठमाडौं, चैत्र १४
नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसकारण देशका विभिन्न भागमा आज बिहान मौसममा बदली रहेको छ ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा कोसी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले आज राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्