रवि लामिछानेलाई उम्मेदवार बन्ने बाटो खुल्यो


 


काठमाडौं, चैत्र ७
महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयबाट आएको प्रतिवेदनका आधारमा महान्यायाधिबक्ता दिनमणि पोखरेलले लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचल्ने निर्णय गरेका हुन् ।

महान्यायाधिवक्ताले सो निर्णय गरेसँगै अब लामिछानेले सफाइ पाएका छन् । अब उनीविरुद्ध सरकारी निकायले मुद्दा चलाउने छैन । सफाइ पाएसँगै लामिछानेलाई चितवन क्षेत्र नम्बर २ मा आउँदो वैशाखमा हुन लागेको उपनिर्वाचनमा चुनाव लड्ने बाटो खुलेको छ ।

लामिछानेलाई मुद्दा चलाउन नपर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयसँगै उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मतसमेत दिएको छ ।

राहदानी दुरुपयोगको विषयमा प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा फाइल पेस गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयमा मुद्दा नचल्ने निर्णय गर्दै पठाएको थियो । राजधानी दैनिकबाट

प्रकाशित मिति: ७ चैत्र २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्