अब के हुन्छ रवि लामिछानेको राहदानी दुरूपयोगसम्बन्धी मुद्दा ?


 


काठमाडौं, चैत्र ६
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राहदानी दुरूपयोगसम्बन्धी मुद्दा चलाउने र नचलाउने भन्ने निर्णय महान्यायाधिवक्ताले गर्ने भएका छन् ।

सरकारका तर्फबाट कुनै मुद्दा चलाउने/नचलाउने भन्ने निर्णय गर्ने अधिकार महान्यायाधिवक्तालाई छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ र उच्च सरकारी वकिल कार्यालय पाटनले राहदानी प्रकरणमा लामिछानेलाई मुद्दा चलाउन नपर्ने राय दिएपछि यस विषयमा अब महान्यायाधिवक्ताले दिने निर्णय अन्तिम हुनेछ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरी त्यससम्बन्धी प्रस्ताव उच्च सरकारी वकिल कार्यालय पाटनमा पठाएको थियो । उच्च सरकारी वकिलको कार्यालय पाटनले पनि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ ।

उक्त फाइल महान्यायाधिवक्ताको कार्यालयमा पुगेको छ । सरकारका तर्फबाट कुनै मुद्दा चलाउने / नचलाउने भन्ने अन्तिम निर्णय गर्ने संवैधानिक अधिकार महान्यायाधिवक्तालाई छ ।

महान्यायाधिवक्ता सरकारको मुख्य कानुनी सल्लाहकार हुने व्यवस्था छ । सरकारका तर्फबाट दर्ता भैसकेको कुनै मुद्दा फिर्ता लिँदा पनि महान्यायाधिवक्ताको राय लिनुपर्ने व्यवस्था संविधानमै गरिएको छ । नागरिक दैनिकबाट

प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्