दोस्रोपटक आज संसदबाट विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड


 


काठमाडौं, चैत्र ६
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । यसअघि प्रधानमन्त्री प्रचण्डले पहिलोपटक पुस २६ गते विश्वासको मत लिएका थिए ।

त्यतिबेला सरकारमा सहभागी भएका र समर्थन गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संवैधानिक व्यवस्थाअनुसार फेरि विश्वासको मत लिन लागेका छन् ।

पहिलोपटक विपक्षी कांग्रेसकोसमेत समर्थन पाएका प्रधानमन्त्रीले यसपटक नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीबाहेकका सांसदको मत पाउने सम्भावना छ । प्रधानमन्त्रीमा कायम रहन प्रचण्डलाई १ सय ३८ सांसदको विश्वास पुर्‍याउनुपर्छ ।

प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थन प्राप्त हुने देखिएको छ। स्वतन्त्र सांसदमध्ये अधिकांश सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएका छन्।

प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्