गोर्खा वेलफेयरले भोजपुर क्याम्पस निर्माण गरिदिने


 


Bhojpur campusभोजपुर, कार्तिक २८

भोजपुरस्थित गोर्खा वेलफेयर कार्यालयको तर्फबाट भोजपुर बहुमुखी क्याम्पसको लागि भवन निर्माण गरिदिने सम्झौता पत्रमा अाइतबार एक कार्यक्रमका बीच हस्ताक्षर भएको छ । गोर्खा वेलफेयर भोजपुरका प्रमुख क्षेत्रीय वेलफेयर अफिसर क्याप्टेन राजन राई र भोजपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. रोहितकुमार श्रेष्ठबीच क्याम्पसमा नयाँ भवन निर्माणको लागि द्धिपक्षिय सम्झौता सम्पन्न भएको हो ।

सम्झौता पत्रमा हस्ताक्षर गर्नुअघि क्याम्टेन राईको नेतृत्वमा प्राविधिकसहितको एक टोलीले क्याम्पसको भौतिक अवस्थाको स्थलगत अवलोकन भ्रमण गरेको थियो । अवलोकन भ्रमणपछि क्याम्पस प्रशासन, प्राध्यापक, विद्यार्थी र कर्मचारीसंग टोलीले अन्तरक्रिया समेत गरेको थियो ।

अन्तरक्रियामा क्याम्पस प्रमुख श्रेष्ठले क्याम्पसको भौतिक संरचनाको अवस्था, भुकम्पको कारण भोग्नु परेको समस्या, टहरामा कक्षा सञ्चालन गर्दा आइ परेका कठिनाईहरु लगायत विषयमा टोलीलाई अवगत गराएका थिए । त्यस्तै उनले पठनपाठनमा सहयोग पुग्ने गरी भवन निर्माण गरी दिन आग्रह गरे ।

प्राध्यापकहरु शक्ति राई, पोष्टराज लामिछाने, अर्जुन तामाङ, दावा शेर्पा, रहनसिँ राई, बाबुराम ओझा, अच्युत खत्री, इश्वरा पौडेल, नीलमणी भट्टराई, उत्तमसिँ राई लगायतले क्याम्पसको हाल रहेका भौतिक अवस्थाबारे अवगत गराउँदै विद्यार्थीहरुको पठनपाठनलाई मद्दत पुग्ने गरी कक्षा सञ्चालनमा प्रयोग हुने खालको भवन निर्माण गरिदिन टोलीसंग माग गरेा थिए ।

गत वर्षको भुकम्पले क्याम्पसको मुख्य प्रशासनीक भवन क्षतिग्रस्त बनाएपछि क्याम्पसमा दैनिक पठनपाठन प्रभावित हुँदै आएको छ । यस अघि गत आश्विन महिनामा समेत गोर्खा वेलफेयर कार्यालय, भोजपुरका सहायक प्रमुख भरत राई नेतृत्वको टोलीले क्षतिग्रस्त भवनको स्थलगत अवलोकन गरी सहयोगको प्रतिबद्धता व्यक्त गरेको थियो ।

क्याम्पसमा हाल स्नातक तह अन्तरगत मानविकी संकायमा ५४ जना, व्यवस्थापन संकायमा १ सय ५७ जना र शिक्षाशास्त्र संकायमा २ सय ५९ जना तथा स्नातकोत्तर तहको शिक्षाशास्त्र संकायमा १७ जना गरी कुल ४८७ जना विद्यार्थीहरु अध्ययनरत रहेको क्याम्पसका सूचना अधिकारी नोदनाथ त्रितालले जानकारी दिए ।

प्रकाशित मिति: २८ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्