अवैध क्रसर र बालुवा प्रशोधन उद्योग खुलाइयो


 


बारा, फागुन २४
नदीजन्य पदार्थहरूलाई आफूखुसी दोहन गरेर राजस्व हिनामिना गर्दै आएका जिल्लाको अवैध क्रसर र बालुवा प्रशोधन उद्योगलाई कारबाही गर्ने निकायबाटै संरक्षण भएको पाइएको छ ।

खोलानाला दोहन गर्दै आएका क्रसर र बालुवा प्रशोधन उद्योगलाई कारबाही गरी बन्द गराउनुपर्नेमा आर्थिक कारबाही लिएर उल्टै संरक्षण गर्दै खोलिएको पाइएको छ ।

मापदण्ड र कानुनी प्रक्रिया पूरा नगरी निर्वाध रूपले वर्षौंदेखि सञ्चालन गर्दै आएको आरोपमा बन्द गराइएका क्रसर र बालुवा प्रशोधन केन्द्रका सञ्चालकबाट गृह मन्त्रालयदेखि जिल्ला समन्वय समिति र प्रहरी प्रशासनका पदाधिकारीले पुनः खोलिदिएको आरोप जिल्लावासीले लगाएका छन् ।

अवैध भन्दै जिल्लामा बन्द गराइएका करिब ४२ वटा क्रसर र बालुवा प्रशोधन उद्योगमध्ये ३० वटालाई खुला गरिएको जिल्ला समन्वय समिति बाराले जनाएको छ । गत पुस अन्तिम साता गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय बाराले मापदण्ड पालना नगरेका तथा कानुनअनुसार दर्ता तथा नवीकरण नगरेका, सञ्चालन अनुमति नलिई तथा एउटा प्रयोजनका लागि दर्ता भई अर्काे प्रयोजनमा सञ्चालनमा रहेका ढुंगा, गिटी, रोडा तथा बालुवा उत्खनन् प्रशोधन कार्यमा संलग्न क्रसर र बालुवा प्रशोधन उद्योगहरूको विद्युतीय लाइन काटेर बन्द गरेको थियो ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति: २४ फाल्गुन २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्