होलीले समृद्धिको लक्ष्यमा एकताबद्ध हुन थप प्रेरित गर्ने प्रधानमन्त्री प्रचण्डको विश्वास


 


काठमाडौं, फागुन २२
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ हिमाल–पहाड र तराईमा फरक फरक दिनमा मनाइने होली पर्व (फागुन पूर्णिमा) का अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले आज जारी गरेको शुभकामना सन्देशमा होली पर्वको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका समस्त दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

शुभकामना सन्देशमा भनिएको छ, “नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायका बीच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकताबद्ध हुन थप प्रेरित गर्नेछ भन्ने विश्वाससहित समस्त नेपालीमा फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक परम्परा र पर्वहरू छन् । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ हिमाल–पहाड र तराईमा फरक फरक दिनमा मनाइने होली पर्वका अवसरमा प्रधानमन्त्रीले शुभकामना व्यक्त गरे ।

विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवर्द्धन गर्नसमेत यस्ता पर्वले अभिप्रेरित गर्ने प्रधानमन्त्रीको भनाइ छ।

प्रकाशित मिति: २२ फाल्गुन २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्