राष्ट्रपति भण्डारीले संघीय संसद्‌को संयुक्त बैठकलाई विशेष सम्बोधन गर्दै


 


काठमाडौं, माघ २७
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दैछिन् । शुक्रबार अपराह्न ३ बजे संघीय संसद्‌को संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

नेपालको संविधानको धारा ९५ बमोजिम यही माघ २७ गते तीन बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन । संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ।

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार राष्ट्रपतिले गर्ने विशेष सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन्। त्यसपछि संयुक्त बैठकले धन्यवाद प्रस्ताव पारित गर्ने कार्यसूची तयार भएको उनले जानकारी दिए।

दुई कार्यकालसम्म राष्ट्रपति भएकी भण्डारीको आज हुने बिशेष सम्बोधनलाई ‘बिदाइ सम्बोधन’को रुपमा हेरिएको छ । नेपालको संविधानले एक व्यक्ति दुई पटक भन्दा राष्ट्रपति हुन नसक्ने प्रावधान राखेको छ । निर्वाचन आयोगले पनि मुलुकको तेस्रो राष्ट्रपतिका लागि आगमी २५ फागुनका लागि नयाँ निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । जसअनुसार नयाँ राष्ट्रपतिको निर्वाचनका लागि तयारी सुरु गरिसकेको निर्वाचन आयोगले जनाएको छ ।

दुई कार्यकालको जिम्मेवारी सम्माहालेकी राष्ट्रपति भण्डारीले शनिबार साँझका लागि साँझ रात्रिभोजको समेत आह्वान गरिसकेकी छिन् । उक्त रात्रिभोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालतका प्रधानन्यायधीश, मन्त्रीहरू, सुरक्षा निकायका तीनै प्रमुखहरू, मुख्यमन्त्री, सांसदहरू, संवैधानिक निकायका प्रमुख र उच्च अधिकारीहरू, कुटनीतिक नियोगका अधिकारीहरूलाई निम्तो गइसकेको छ ।

उनी नेपालको पहिलो महिला राष्ट्रपतिको रुपमा नाम दर्ज गरेर २५ फागुनबाट औपचारिक रुपमा बिदा हुँदै छिन् । उनी नेपालको पहिलो महिला राष्ट्रपति पनि हुन् ।

प्रकाशित मिति: २७ माघ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्