‘सहमति जुटे सहजीकरण गर्न तयार’


 


काठमाडौं, माघ ४
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक पद बाँडफाँटमा सत्तारूढ दलबीच भएको सहमतिमा आफू दृढ रहेको बताउँदै ती पदमा दलबीच सहमति जुटे सहजीकरण गर्न तयार रहेको बताएका छन् ।

गत २६ पुसमा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । विश्वासको मत दिने राजनीतिक दलसँग मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले संवैधानिक पदहरूको निर्वाचनमा सहमतिका साथ अघि बढ्न सकिन्छ वा सकिँदैन भन्नेबारे चासो राख्दै दलहरूको धारणा र सुझाव मागेका छन् ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका सूर्य किरणका अनुसार संवैधानिक पदमा हुने निर्वाचनमा सहमतिका साथ अघि बढ्न सकिन्छ कि सकिदैन ? भन्नेबारेमा प्रधानमन्त्रीको चासो रहेको छ । सत्तारूढ दलका बीचमा संवैधानिक पदमा भएको बाँडफाँटप्रति दृढ रहेको तर सहमतिका साथ अगाडि बढ्नसके आफूले सहजीकरण गर्न तयार रहेको उनले बैठकमा बताए ।

छलफलमा सहभागी नेपाली कांग्रेसले संवैधानिक पदहरूमा सहमति गरेर अगाडि बढ्नसकिने जवाफ दिएको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति र सभामुखबारे छलफल गर्न आफ्नो पार्टी तयार रहेको कुरा सर्वदलीय बैठकमा राखेको बताए । बैठकपछि उनले बैठकमा कांग्रेस प्रमुख प्रतिपक्षी दल रहेको जानकारी गराएको दाबी गरे ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति: ४ माघ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्