एमालेबाट क–कसले ग्रहण गर्दैछन् मन्त्रीको शपथ ?


 


काठमाडौं, माघ ३
आज हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा एमालेले चार मन्त्री र दुई राज्यमन्त्री पठाउने भएको छ ।

यसअघि एमालेबाट सरकारको नेतृत्व गर्दै विष्णु पौडेलसहित ज्वाला कुमारी साह, राजेन्द्र राई र दामोदर भण्डारीले मन्त्रीको सपथ लिएका छन् । विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्रीको रूपमा काम गरिरहेका छन् ।

पौडेलबाहेक अरू मन्त्रीको जिम्मेवारी तोकिएको छैन। आज उनीहरूको जिम्मेवारी समेत तोकिने छ । सोमबार बालुवाटारमा भएको सत्ता साझेदार दलबीचको छलफलमा एमालेले ८ मन्त्री र २ राज्यमन्त्री पाउने गरी सहमति भएको हो ।

एमालेबाट आज थपिने मन्त्रीहरूमा पर्वतका पदम गिरी, सुनसरीकी भगवती चौधरी, सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारी रहेका छन् । उनीहरू चारै जना यसअघि मन्त्री बनेका थिएनन् ।

त्यसैगरी दुई राज्यमन्त्रीका रूपमा रौतहटका किरण साह र पर्साका राजकुमार गुप्तालाई शपथ खुवाउने तयारी रहेको एमाले उच्च स्रोतले बताएको छ । स्रोतका अनुसार एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था, उद्योग र महिला बालबालिका मन्त्रालय पाउने सम्भावना छ ।

प्रकाशित मिति: ३ माघ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्