सन्दीप लामिछाने ३ महिना ९ दिनपछि आज रिहा हुँदै


 


काठमाडौं, पाैष २९
क्रिकेटर सन्दीप लामिछाने आज रिहा हुने भएका छन् । बिहीबार उच्च अदालत पाटनले २० लाख धरौटीमा छोड्न आदेश दिए पनि उनी आज मात्र रिहा हुने भएका हुन् ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलास पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै लामिछानेलाई सर्तसहित धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उनी ३ महिना ९ दिनपछि रिहाइ हुन लागेका हुन् ।

उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए। उनका अनुसार लामिछानेलाई विदेश जान रोक लगाइएको छ । साथै उच्च अदालतले पाटनले सन्दीपलाई पीडितसँग सम्पर्क नगर्न आदे‍श दिएको छ । यदि सन्दीपले पीडितसँग सम्पर्क गरेको पुष्टि भएमा उनलाई फेरि थुनामा पठाइनेछ ।

जिल्ला अदालत काठमाडौंले सन्दीपलाई थुनामै राखेर कारबाही गराउन आदेश गरे पनि सोविरुद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उनलाई गएको कात्तिक १८ मा थुनामा पठाउन आदेश दिइएको थियो ।

काठमाडौंको होटल इनमा भदौ ५ गते राति आफूलाई पटक पटक बलात्कार गरेको एक किशोरीको उजुरीपछि विदेशमा रहेका सन्दीपलाई पक्राउ गर्नको लागि ‘डिफ्युजन नोटिस’ जारी गरिएको थियो । प्रहरीले गत असोज २० गते त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।

बलात्कारको आरोपमा सन्दीपलाई असोज २० गते विदेशबाट फर्किने क्रममा विमानस्थलबाटै पक्राउ गरिएको थियो ।

प्रकाशित मिति: २९ पुस २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्