मुद्दा मिलाइदिनुस् भन्दै एसपीलाई नै घुस दिन खोज्ने दुईजना पक्राउ


 


भक्तपुर, पाैष २९
भक्तपुर प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी)लाई घुस दिन खोज्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धादिङको गल्छी गाउँपालिका-५ बस्ने ४१ वर्षीय अर्जुन तामाङ र सोही स्थान बस्ने ३२ वर्षीय बिरोध तामाङ रहेको छन् ।

भक्तपुर प्रहरी परिसरका अनुसार एसपी प्रजित केसीको नम्बरमा फोन गरी मुद्दा मिलाइदिनुस् पैसा दिन्छु भन्दै उनीहरुले प्रलोभनमा पार्न खोजेका थिए । त्यसपछि परिसर भक्तपुरको सादा पोशाकमा प्रहरी खटाइ उनीहरूलाई पक्राउ गरिएको परिसरले जनाएको छ ।

लागूऔषध (पोल्याण्ड) मुद्दाको अनुसन्धानमा परिसर भक्तपुरमा पुस २६ गतेदेखि नियन्त्रणमा रहेका धादिङको गल्छी-५ का ३१ वर्षीय गोबिन्द तामाङको मुद्दा मिलाई छुटाई दिएमा पचास हजार रुपैयाँ दिने उनीहरुले भनेका थिए ।

५७ हजार नगद लिई आएका उनीहरूलाई परिसरबाटै नियन्त्रणमा लिइएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रकाशित मिति: २९ पुस २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्