भाडाका अपराधीबाट पत्नीलाई मार्ने व्यक्तिलाई मृत्युदण्ड


 


एजेन्सी, पाैष २८
अमेरिकाको टेक्सासको उपनगर ह्युस्टनका एक पूर्वप्रहरी अधिकारीलाई मृत्युदण्ड दिइएको छ । ३० वर्षअघि आफ्नी सम्बन्ध विच्छेद भएकी पत्नीको हत्याका लागि दुईजना भाडाका अपराधीलाई प्रयोग गरेको अभियोगमा ६५ वर्षीय रोबर्ट फ्राटालाई दोषी ठहराइएको थियो ।

पत्नीसँग विवादास्पद ढंगले पारपाचुके गरेका उनले हिरासतबाटै कानुनी लडाइँ लडेका थिए । सन् १९९४ को नोभेम्बरमा पत्नी ‘फराह’को गोली हानी हत्या गराउन लगाएका उनलाई हन्ट्सभिल्लेस्थित सरकारी कारागारमा विषाक्त इन्जेक्सन लगाएर मृत्युदण्ड दिइएको हो । लठ्याउने औषधि पेन्टोबार्विटलको शक्तिशाली परिमाणमा इन्जेक्सन दिइएको २४ मिनेटपछि उनलाई मृत घोषित गरिएको थियो ।

मृत्युदण्ड दिइनु करिब तीन मिनेट अघि फ्राटाका आध्यात्मिक सल्लाहकार ब्यार्री ब्राउनले उनका लागि प्रार्थना गरेका थिए । जेलका वार्डेनले कुनै अन्तिम इच्छा छ कि भनेर सोधिएको जवाफमा उनले ‘छैन’ भनेका थिए ।

विषाक्त औषधिले फ्राटाको शरीरमा असर देखाउन थालेपछि ब्राउनले पुन: प्रार्थना सुरु गरेका थिए । फ्राटाले विस्तारै दुवै आँखा बन्द गरे, एउटा गहिरो श्वास लिए त्यसपछि शान्त हुनुअघि उनले छ पटक बेस्सरी घुरेका थिए ।

सरकारी वकिलहरूले फ्राटाको प्रायोजित हत्याका लागि जोसेफ प्रिस्टास नामक एकजना मध्यस्थकर्ताले भाडामा एकजना सुटरको व्यवस्था गरिदिएको र ह्युस्टनको उपनर एटास्कोसिटास्थित आफ्नै घरको ग्यारेजमा फराहको टाउकोमा दुई गोली हानिएको बताएका छन् । त्यतिबेला मिसौरी सहरका जन सुरक्षा अधिकारी रहेका फ्राटले लामो समयदेखि आफू निर्दोष रहेको दाबी दोहराउँदै आएका थिए ।

एपीबाट ।

प्रकाशित मिति: २८ पुस २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्