सोलिडारिटी कप– नेपालले लाओससँग सेमिफाइनल खेल्दै


 


nepali football teamकाठमाडौँ, कार्तिक २७

मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलचरणको खेलमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ । मलेसियाको नेगेरी रङ्गशालामा अाज नेपाली समय अनुसार दिउँसो २ः१५ बजे समूह ए को विजेता नेपालले समूह बी को उपविजेता लाओससँग प्रतिस्पर्धा गर्नेछ ।

तीन टोली सम्मिलित समूह एमा दुई खेल खेलेको नेपालले एक खेलमा जित तथा एक खेलमा गोलरहित बराबरी खेलको थियो । नेपालले शनिबार भएको पहिलो खेलमा टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको थियो भने मंगलबार भएको दोस्रो खेलमा बु्रनाईलाई ३–० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो ।

त्यसैगरी समूह चरणको खेलमा तीन खेल खेलेको लाओसले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा श्रीलङ्कालाई २–१ गोलअन्तरले पराजित गरेको थियो भने मकाउसँग ४–१ गोलअन्तरले पराजित भएको थियो ।

समूहचरणको अन्तिम खेलमा भने लाओसले मंगोलियालाई ३–० गोलअन्तरले पराजित गर्दै उपविजेता बन्दै सेमिफाइनलमा आफनो यात्रा तय गरेको थियो ।

शनिबार नै हुने अर्को सेमिफाइनल खेलमा मकाउ र ब्रुनाई भिड्नेछन् । प्रतियोगितामा समूह बीको विजेताको रुपमा मकाउ सेमिफाइनलमा प्रवेश गरेको हो भने समूह एको उपविजेता ब्रुनाई हो ।

मकाउले मंगोलिया र लाओसलाई पराजित गरेको थियो भने श्रीलंकासँग बराबरी खेलेको थियो । उक्त खेल मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा हुनेछ ।

सोलिडारिटी कप एएफसीले आफ्ना कमजोर सदस्य राष्ट्रका लागि आयोजना गरेको प्रतियोगिता हो ।

प्रकाशित मिति: २७ कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्