देशकै ठूलो बैंक बन्यो ग्लोबल आइएमई, एकीकृत कारोबार आजदेखि


 


काठमाडौं, पाैष २५
ग्लोबल आईएमई र बैंक अफ काठमाण्डु मर्ज भएपछिको एकीकृत कारोबार आज सोमबारदेखि सुरु हुने भएको छ ।

मर्जपछि ग्लोबल आईएमई बैंकको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो । एकीकृत कारोबारका लागि प्रणाली स्वाप गर्नका लागि शनिबार र आइतबार कारोबार बन्द गरिएको थियो । बीओकेसँगको मर्जरसँगै ग्लोबल आईएमई बैंको चुक्ता पूँजी ४५ अर्ब ७७ करोड पुगेको छ ।

निक्षेप ४ खर्ब ८ अर्ब र कर्जा प्रवाह ३ खर्ब ७६ अर्ब पुगेको छ । चुक्ता पूँजी, निक्षेप र ऋण लगानीका हिसाबले ग्लोबल आईएमई देशको सबै भन्दा ठूलो बैंक बनेको छ । अहिलेसम्म ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स गरी २१ वटा संस्था ग्लोबल आईएमईमा गाभिएका छन्।

मर्जरपछि यो बैंकका देशभरमा ३ सय ६५ वटा शाखा, ३ सय ६७ एटीएम र ४० लाख ग्राहक पुगेका छन् । विदेशमा पनि ३ वटा शाखा रहेको बैंकले जनाएको छ ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहेका छन । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहेका छन् ।

प्रकाशित मिति: २५ पुस २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्