दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सफल बनाउन एमाले अध्यक्ष ओलीकाे आग्रह


 


काठमाडौँ, पाैष २४
सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस २६ गते सरकारलाई विश्वासको मत दिन तोकिएको समयमै संसद्‍मा उपस्थित हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।​

नेपालीहरूको बलजफ्तीमा पुष्पकमल दाहाल नेतृत्वको सरकार बनाएको र त्यसलाई विश्वासको मत दिएर सफल बनाउनका लागि पार्टीका सांसदहरूले २६ गते एक मिनेट पनि ढिलाइ नगरी संसद्‍मा उपस्थित हुनुपर्नेतर्फ पनि पार्टीका सांसदहरूलाई उनले सचेत गराए ।

शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीका सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेपालीहरूको बलजफ्तीबाट वर्तमान सरकार बनेको उल्लेख गर्दै त्यसलाई सफल र प्रभावकारी बनाउन आफूले चाहेको पनि पटकपटक दोहर्‍याए ।

अध्यक्ष ओलीले यो सरकार ढाल्नका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अधिकतम प्रयास गरिरहेको उल्लेख गर्दै सफल हुन नदिने दृढता समेत व्यक्त गरे । उनले वर्तमान सरकारले सुशासन र मुलुकको विकासका निम्ति दृढतापूर्वक अघि बढोस् भन्ने आफ्नो पार्टीको चाहना रहेको स्पष्ट पारे ।

ओलीले वर्तमान सरकारले विश्वासको मत नपाए प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलका हैसियतले काँग्रेसले सरकार बनाउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने पनि बताए ।

प्रकाशित मिति: २४ पुस २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्