बाबुरामको चेतावनी – राप्रपासँग घाँटी नजोडौं, व्यवस्था नै धरापमा पर्न सक्छ


 


काठमाडौं, पाैष २२
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिहरूसँग घाँटी जोड्दा व्यवस्था नै धरापमा पर्न सक्ने चेतावनी दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई विश्वासको मत दिन र सरकारमा सहभागी हुन सर्त राखिरहेका बेला भट्टराईले यस्तो चेतावनी दिएका हुन् ।

उनले २०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणामबारे सरकारलाई सजग गराए ।
गठबन्धन गर्दा लक्ष्मणरेखा पालना गरिनुपर्ने उनको माग छ ।

‘गठबन्धन गर्दा एउटा लक्ष्मणरेखा पालना गरिएन भने ठूलो दीर्घकालीन क्षति हुन सक्छ,’ ट्वीट गर्दै भट्टराईले भनेका छन्, ‘सरकारको अंकगणितका निम्ति संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्छ।’

राप्रपाले संघीयता खारेजी र अभिभावकीय भूमिकामा राजा राख्नुपर्ने एजेन्डासमेत उठान गर्दै आएको छ । यस्तै प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको राप्रपाले सरकारलाई विश्वासको मत दिन र सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा बिदा दिनुपर्नेजस्ता सर्त राख्दै आएको छ ।

यस्तो अवस्थामा भट्टराईले राप्रपा बोक्दा दुष्परिणाम निम्तन सक्ने उल्लेख गरेका छन्। ‘२०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौं,’ उनले भनेका छन् ।

राप्रपासहित ७ दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन् ।

प्रकाशित मिति: २२ पुस २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्