राष्ट्रपति/उपराष्ट्रपति चुनावमा व्यावहारिक समस्या


 


काठमाडौं, पाैष १७
देशमा संघीयता कार्यान्वयनमा आएपछि दोस्रोपटक हुन लागेको राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा व्यावहारिक समस्याका कारण निर्वाचन आयोग अलमलमा देखिएको छ । बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २९ गते सकिने भएकाले माघ वा फागुनभित्र चुनाव गराउने भन्ने विषयमा आयोग अलमलमा परेको हो ।

आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुनेगरी मिति तोकेर सरकारलाई जानकारी दिनुपर्ने कानुनी प्रावधान छ । तर आयोगले अहिलेसम्म निर्वाचन मिति तोकेको छैन । एक महिनाअघि नै चुनाव गर्नुपरे माघभित्र हुन्छ । माघभित्रै चुनाव गराएर नवनिर्वाचित राष्ट्रपतिलाई शपथ ग्रहण गराए व्यावहारिक समस्या हुने देखिएको छ । यसकारण चुनाव कतिखेर गर्ने भन्ने अन्योल भएको हो ।

कानुनअनुसार निर्वाचन एक महिनाअघि नै गर्नुपर्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । ‘चुनाव भएको ५ वर्ष पुग्ने क्रममा छ। सरकारसँग परामर्श गरेर कहिले गर्ने, कसरी गर्ने भन्ने मिति तय हुनेछ,’ उनले भने, ‘बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।’

राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथग्रहण गराउने व्यवस्था छ । तर प्राविधिक कारणले बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल नसकिँदै नयाँ निर्वाचित गरी शपथ गराउँदा दुईजना राष्ट्रपति र उपराष्ट्रपति हुने व्यावहारिक समस्या पनि रहेको उनले बताए । यही समस्याका कारण आयोग चुनावको मिति तोक्ने विषयमा अलमलमा देखिएको हो ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति: १७ पुस २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्