शक्ति बाँडफाँटको लफडामा अल्मलिँदै सत्ता गठबन्धन


 


काठमाडौं । सात दलीय सत्ता गठबन्धन शक्ति बाँडफाँटको लफडामा अल्झिएको छ । कम्युनिस्ट पार्टीहरूलाई सरकारमा ल्याउने प्रयत्न गरिरहेका प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदीय भागबन्डा कसरी मिलाउने भन्ने अन्योलमा परेका छन् ।

प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नसोधी एक कदम पनि अघि सर्न नसक्ने अवस्था आएको बताउँदै माओवादीका एक केन्द्रीय सदस्यले भने, ‘प्रधानमन्त्रीले चाहेर मात्रै केही हुँदैन् । सातवटा पार्टी मिलाएर बनेको सत्ता गठबन्धनमा एमालेकै डाडु पन्यू चल्ने भएको छ । केपी ओलीकै कुरा सरकारमा लागू हुने परिस्थिति बनेकाले प्रचण्ड प्रधानमन्त्री मात्रै हो । भागबन्डा मिलाउनेमा उहाँको त्यति धेरै भूमिका रहँदैन् ।’

सत्ता गठबन्धनभित्र पछिल्लो समयमा संघीय सरकारसँगै प्रादेशिक सरकारका राजकीय पदहरूमा समेत भागबन्डा गर्न गाह्रो हुने देखिएको छ । सात मुख्यमन्त्री कसले पाउने भन्ने विषयमा लफडा सुरू भएकाले नेताहरू आन्तरिक छलफलमा व्यस्त हुन थालेको बताइएको छ ।

नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीका कारण लफडा सुरू भएको एक नेताले बताउनुभयो । सरकारमा बहुमत पुर्‍याउनका लागि उनीहरूको सहभागिता अनिवार्य भएकाले गठबन्धनमा सामेल गरिएको तर, ती दलहरूका कारण शक्ति बाँडफाँटमा समस्या आउन सक्ने नेताहरूको भनाइ छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति: १५ पुस २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्