नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज


 


काठमाडौँ, पाैष ११
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयका अनुसार आज नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह आयोजना गरिएको छ ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह सोमबारका लागि तय भएको बताए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका नवनियुक्त प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाको एक सय ६९ सांसदको समर्थन छ । सोमबार नै मन्त्रिपरिषद्का केही सदस्यले समेत पद तथा गोपनीयताको शपथ लिनसक्ने बताइएको छ ।

विसं २०६४ मा सम्पन्न संविधानसभा सदस्य निर्वाचनमा सबैभन्दा ठूलो दलको अध्यक्षको हैसियतमा तथा २०७३ साउनमा नेपाली कांग्रेसको समर्थनमा दाहाल प्रधानमन्त्री भएका थिए ।

उनी विसं २०६५ को साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा र २०७३ साउन १९ गते दोस्रो पटक प्रधानमन्त्री बनेका थिए ।

प्रकाशित मिति: ११ पुस २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्