यसरी भत्कियो सत्ता गठबन्धन, अब कांग्रेस प्रमुख प्रतिपक्षी


 


काठमाडौं, पाैष ११
सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा गाँठो थियो । राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसले अडान राख्यो । नेकपा माओवादी केन्द्र राष्ट्रपति छाडेर प्रधानमन्त्री लिन मन्जुर थियो ।

तर, कांग्रेस सभापति शेरबहादुर देउवाले बरु राष्ट्रपति छाड्ने तर प्रधानमन्त्री कुनै हालतमा नछाड्ने हठ लिए । आइतबार बिहानै सोही सन्देशसहित देउवाले नेता विमलेन्द्र निधिलाई दूत बनाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पठाए ।

तर, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला प्रधानमन्त्री प्रचण्डलाई नै बनाउन तयार थिए । सोही आशयसहित पौडेल र प्रचण्डबीच संवाद पनि चलिरहेकै थियो । प्रचण्ड राष्ट्रपतिसहित सभामुख पनि कांग्रेसलाई छाड्न तयार बनिसकेका थिए ।

शनिबार बालुवाटारमा भएको गठबन्धन बैठकमा कांग्रेस सभापति देउवाले प्रधानमन्त्री कुनै हालतमा नछाड्ने भन्दै राष्ट्रपतिमा माधव नेपाललाई प्रस्ताव गरे । सहमतिको वातावरण त्यहीँबाट भाँडियो । प्रचण्ड देउवाप्रति सशंकित हुँदै रुष्ट बने ।

कांग्रेस नेता पौडेल भन्छन्, ‘राष्ट्रपति र सभामुख छाड्न प्रचण्ड तयार थिए, देउवा प्रधानमन्त्री छाड्न तयार भएनन्, उनले माधव नेपाललाई राष्ट्रपति बनाउने विषय ल्याए, अवस्था बिग्रियो ।’

आइतबार पनि गठबन्धनमा सहमतिका लागि प्रयास भए । निधिसँगको भेटपछि प्रचण्ड आफैं देउवालाई भेट्न बालुवाटार पुगे । तर, देउवा टसमस भएनन् । र प्रचण्ड बालुवाटारबाट निस्किएर बालकोट हानिए । राजधानी दैनिकबाट

प्रकाशित मिति: ११ पुस २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्